जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा लापरबाही गरेको आरोपमा चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनपछि यो कदम चालिएको हो। जलेश्वरस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले मंगलबार मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालमा उपचार नपाएर बिरामीहरूले अकालमा ज्यान गुमाउनुपरेको भन्दै ध्यानाकर्षण गराएका थिए।
त्यसपछि मुख्यमन्त्रीले तत्काल छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका थिए। प्रारम्भिक अनुगमन र सोधपुछबाट सेवा प्रवाहमा लापरबाही देखिएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो।
मन्त्रालयले अस्पतालका दुई मेडिकल अधिकृत र दुई स्टाफ नर्सलाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएकाहरूमा मेडिकल अधिकृतद्वय डा. शिखा अधिकारी र डा. सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साह रहेका छन्। उनीहरूमाथि सेवाग्राहीलाई उचित स्वास्थ्य सेवा नदिएको, आचारसंहिता पालना नगरेको र काममा लापरबाही गरेको आरोप लागेको छ।
मन्त्रालयले स्पष्टीकरणका लागि तोकिएको तीन दिनभित्र चित्तबुझ्दो जवाफ नआए प्रदेश निजामती सेवा ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सेवा प्रवाहमा लापरबाही गर्ने कर्मचारीहरूलाई मन्त्रालयले कारबाही गर्ने बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि पदअनुसार कार्यक्षमता नदेखाउने र लापरबाही गर्ने प्रदेश सरकार मातहतका कुनै पनि कर्मचारीलाई कारबाही गरिने स्पष्ट पारेको छ।