बारा । लागू औषध ब्राउन सुगर सहित बारा प्रहरीले एक महिलालाइ पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मंगलबार दिउॅंसो फेटा गाँउपालिका वडा नम्बर १ त्रिवेणीटोलबाट एक महिलालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ४० वर्षकी पार्वती महतो छिन् । महतोले लागू औषध बेचबिखन गरिरहेको सूचना प्रहरीलाइ आएको थियो । सोही सूचनाको आधारमा प्रहरीले उनको घरमा छापामारी गरि ब्राउन सुगर बरामद गरेको डिएसपी बिजयराज पण्डितले बताए ।
महतोले कपडाको झोलाभित्र रहेको बट्टाभित्र प्लाष्टिकको स-सानो पुरियामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध फेला पारेको हो । प्रहरीले ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम १६० मिलिग्राम फेला पारेको डिएसपी पण्डितले बताए ।
पक्राउ परेकी महिलालाइ बारा प्रहरीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।