ट्रेन्डिङ

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

वीरगन्ज । अब सवारीसाधनको दर्ता, नामसारी, वा नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ।

यातायात व्यवस्था विभागले भदौ ३१ सम्मको समय दिएर असोज १ गतेदेखि यो नियम कडाइका साथ लागू गर्न सबै सवारी धनीलाई निर्देशन दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा साउन २० गते बसेको विषयगत समितिको बैठकले यो निर्णय गरेको थियो। सोही निर्णयअनुसार, सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले असोज १, २०८२ देखि सवारी दर्ता, नामसारी र नवीकरणका क्रममा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गराउनुपर्नेछ।

विभागले जारी गरेको सूचनामा सबै सवारी धनीलाई यथाशीघ्र नजिकको यातायात कार्यालयमा गएर ‘हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ जडान गर्न आग्रह गरिएको छ। यसले सवारीसाधनको पहिचान र सुरक्षालाई थप बलियो बनाउने विश्वास गरिएको छ।

समयमै इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा सवारी दर्ता, नामसारी र नवीकरण प्रक्रिया अवरुद्ध हुन सक्ने भएकाले सवारी धनीहरूलाई तोकिएको समयसीमाभित्र यो नियम पालना गर्न विभागले जोड दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै