वीरगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरी आफू राजनीतिको माध्यमबाट नेपाल र नेपालीको हितका लागि काम गर्न लागेको बताएका छन्।
प्रसाईंले आफ्नो अभियानमा विभिन्न अवरोध आएपछि राजनीतिक दल खोल्ने निष्कर्षमा पुगेको बताए। ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ,’ उनले भने, ‘अब मेरो परिवारभन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिले बिगारेको अवस्था सुधार गर्न हामी राजनीतिमा संलग्न हुन बाध्य भएका छौँ।’ उनले केही समयभित्रै आफ्नो दलको नाम घोषणा गर्ने जानकारी दिए।
सोही पत्रकार सम्मेलनमा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जीविकोपार्जन गरेको आरोप लगाएका छन्। गत चैत १५ गतेको आन्दोलनमा राप्रपाले आफूलाई धोका दिएको र पिठ्युमा छुरा प्रहार गरेको आरोप पनि उनले लगाए।
प्रसाईंले भने, ‘तपाईं जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन।’ उनले आफूलाई ‘बैंक ठग’ भनेकोमा लिङ्देनप्रति आक्रोश पोख्दै चैत १५ को घटनामा आफूलाई मार्ने योजना भएको दाबी पनि गरे।
प्रसाईंले आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि प्रहरीको गुँडभित्र छिरेको दाबी गरे ।