वीरगन्ज । प्रस्तावित शिक्षा विधेयकमा रहेका केही प्रावधानहरूको विरोधमा देशभर आन्दोलन गरिरहेका निजी विद्यालयका सङ्गठनहरूले आज पर्साबाट सांसद बिना जयसवाललाई ज्ञापनपत्र बुझाएका छन्।
प्याब्सन, एन–प्याब्सन र हिसान पर्साका प्रतिनिधिहरूको एक संयुक्त टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद तथा शिक्षा समिति सदस्य जयसवाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउने टोलीमा प्याब्सनका जिल्ला अध्यक्ष सरोज चौधरी, सचिव अशोक सङ्रौला, वरिष्ठ उपाध्यक्ष सुशिला साह र केन्द्रीय सदस्य छेडुप लामा लगायत सहभागी थिए।
निजी विद्यालय सञ्चालकहरूको भनाइ अनुसार, सरकारले दर्ता गरेको शिक्षा विधेयकमा निजी विद्यालयहरूको अस्तित्व र अधिकार कमजोर पार्ने खालका प्रावधानहरू राखिएको छ। उनीहरूले विधेयक हालकै स्वरूपमा पारित भएमा निजी विद्यालयहरूको भविष्य र गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन्।
ज्ञापनपत्रमार्फत उनीहरूले विधेयकका विवादास्पद प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने, निजी विद्यालयलाई शिक्षामा एक महत्वपूर्ण साझेदारको रूपमा मान्यता दिनुपर्ने र नीति निर्माणमा निजी क्षेत्रको सुझावलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
सांसद बिना जैसवालले ज्ञापनपत्र बुझ्दै निजी विद्यालय सञ्चालकहरूको मागबारे शिक्षा समितिमा छलफल गर्ने र आफूले सक्दो पहल गर्ने आश्वासन दिएकी छिन्।
यसअघि पनि प्याब्सन, एनप्याब्सन, र हिसानले विधेयक संशोधनको माग गर्दै देशभर विभिन्न प्रदर्शन र आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन्।