जनकपुरधाम । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको कार्यकर्ता रहेको स्पष्ट पारेकी छन्।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस विषयमा धेरै छलफल गर्नु आवश्यक नभएको बताइन्।
‘म नेकपा एमालेकै कार्यकर्ता हुँ। म पनि आलोचनाबाट मुक्त छैन, कोही पनि छैन,’ उनले भनिन्, ‘यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन।’
भण्डारीले राजतन्त्र र गणतन्त्रलाई फरक व्यवस्थाको रूपमा व्याख्या गरिन्। उनले भनिन्, ‘राजा एक व्यक्ति हुन्, जबकि राष्ट्रपति एक पद हो जुन आवधिक हुन्छ।’ उनले कुनै पनि नागरिक राष्ट्रपतिको पदमा निर्वाचित हुन सक्ने र कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्ने बताइन्।
एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि आफू ४५ वर्षदेखि एमालेको संगठित सदस्य रहेको भण्डारीले दाबी गरिन्। ‘४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हुँ,’ उनले भनिन्।
उनले आफू एमालेको निर्णयपछि नै राष्ट्रपति बनेको र कार्यकाल सकिएपछि पुनः पार्टीको राजनीतिमा फर्किएको दोहोर्याइन्। उनले भनिन्, ‘हिजो पनि म नेकपा एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हुँ र आज पनि म एमालेमै छु।’
पार्टीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको दाबी छ।
कांग्रेस नेता शेखर कोइरालासँगको भेटबारे भण्डारीले यसलाई सामान्य भेटघाटको रूपमा लिएको बताइन्। उनले भनिन्, ‘उहाँ पनि मोरङकै हो, हामी पनि त्यहीँ जन्मे–हुर्केको हो। भेटको कुरालाई यस्तो ठूलो हाउगुजीको रूपमा लिनुपर्दैन।’ उनले देशका समस्याबारे केन्द्रीय नेताहरूले छलफल गर्नु राम्रो कुरा भएको पनि बताइन्।
यद्यपि, भण्डारीले तत्काल वाम एकताको बलियो आधार भने नदेखेको तर यो असम्भव पनि नभएको धारणा राखिन्।