वीरगन्ज । काठमाडौंको गोंगबुमा श्रीमतीको हत्या गरी बक्स पलङभित्र लुकाएर फरार भएका एक युवकलाई पर्साको वीरगन्जबाट पक्राउ गरिएको छ।
भारततर्फ भाग्न लागेको अवस्थामा बूढानीलकण्ठ नगरपालिका–२ का सन्तोष सेन्चुरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरगन्ज प्रहरीसँगको समन्वयमा पक्राउ गरेको हो।
सेन्चुरीमाथि गत साउन ३० गते गोंगबु मित्रनगरस्थित एक होटलको कोठाभित्र २७ वर्षीया श्रीमती ललिता बिकको हत्या गरेको आरोप छ। तीन दिनअघि नै हराएको भनी प्रहरीमा निवेदन परेकी ललिताको शव दुर्गन्ध आएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गर्दा बक्स पलङभित्र लुकाइएको अवस्थामा फेला परेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सन्तोषले डिभोर्सको विषयमा छलफल गर्न भन्दै ललितालाई होटलमा बोलाएर घाँटी थिची हत्या गरेको खुलेको छ।
हत्यापछि फरार भएका सन्तोषलाई प्रहरीले खोजी गर्ने क्रममा वीरगन्जमा भेटेको हो। वीरगन्जबाटै पक्राउ गरिएका उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं गलेर प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको छ।