वीरगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचलाई व्यवस्थित गर्न अब विदेश जाने यात्रुहरूले उडानको कम्तीमा एक घण्टाअगावै विमानस्थल पुग्नुपर्ने भएको छ।
यात्रुहरूको अन्तिम समयको चापले कागजात परीक्षणमा कठिनाइ भएको भन्दै अध्यागमन विभागले यो नयाँ व्यवस्था लागू गरेको हो। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विशेषगरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरूको हकमा यो समस्या बढी देखिएको बताए।
‘अन्तिम समयमा जाँच डेस्कमा रहेका अधिकारीहरूलाई समेत चेकजाँच गर्न गाह्रो भएकाले यो नियममा कडाइ गरिएको हो,’ उनले भने। यो निर्णय गर्नुअघि अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनी र सरोकारवालाहरूसँग छलफल गरेको थियो।
यसैबीच, अध्यागमनमा कर्मचारीको मिलेमतोमा भिजिट भिसामा हुने अवैध असुलीको विषयमा अख्तियारले छानबिन गरिरहेको छ। तत्कालीन विमानस्थल प्रमुख पक्राउ परेपछि गृह मन्त्रालयले अध्यागमनमा नरहरि घिमिरे र महानिर्देशकमा तिवारीलाई पठाएको थियो। विभागले रातिको समयमा उडान तालिकालाई केही लचिलो बनाउन नागरिक उड्डयन प्राधिकरणलाई आग्रह पनि गरेको छ।