ट्रेन्डिङ

रवि लामिछाने नख्खु कारागारमा : ‘तावाबाट उम्केर भुंग्रोमा’ परेजस्तो !

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा कारागारबाट काठमाडौंको नख्खु जेलमा सरुवा भएका छन्।

आफ्नै आग्रहमा सरुवा भए पनि उनका समर्थकहरू ‘तावाबाट उम्केर भुंग्रोमा’ परेजस्तो चिन्तामा छन्। अदालतको आदेशपछि पनि सरकारले ढिलाइ गरेपछि चौतर्फी दबाबका कारण हिजो मात्रै उनलाई काठमाडौं ल्याइएको हो।

नख्खु कारागारमा लामिछानेको पहिलो रात त्यति सुखद रहेन। शनिबार ढिलो पुगेका कारण उनलाई अन्य ४१४ जना कैदीबन्दी राखिएको ब्लकमै कोचिएको थियो। यद्यपि, नख्खु कारागारका जेलर भीम कोइरालाले लामिछानेको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखी आजदेखि उपयुक्त स्थानमा राखिने बताएका छन्।

जेलर कोइरालाले भने, ‘कारागारभित्र उपलब्ध सेवा र सुविधाभित्रै उहाँको सहजताको खोजी गर्छौं। हिजो व्यवस्थापन गर्न सकेनौँ, तर आजदेखि सहज हुन्छ।’ कारागार व्यवस्था विभाग स्रोतका अनुसार लामिछानेले ‘सिंगल रुम’ पाउनेछन् जसमा सुत्नका लागि एउटा खाट मात्र हुनेछ। एसी, पंखा, कुलर जस्ता सुविधा भने कारागारले उपलब्ध गराउन सक्दैन।

स्रोतले थप भन्यो, ‘यस्तो सुविधाका लागि कि त मन्त्रालयले छुट्टै बजेट निकासा गर्नुपर्छ, कि स्वयं थुनुवाले व्यवस्था गर्नुपर्छ। कारागारले कसैलाई पनि यस्तो सुविधा दिन सक्दैन।’

भैरहवा कारागारमा रहँदा लामिछानेले दुईवटा पंखा, फोन र छुट्टै शौचालयको सुविधा पाएको तथा भेटघाट पनि सहज भएको दाबी गरिएको थियो। नख्खुमा पनि यस्तो सुविधा मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा जेलर कोइरालाले भने, ‘कारागार ऐन र नियमावलीले दिन मिल्ने कुरा दिन्छौँ। नमिल्ने कुरामा हामीले गरेर केही हुँदैन।

कारागार ऐनअनुसार कुनै पनि कैदीबन्दीले कारागार प्रशासनको अनुमतिबिना बाहिरबाट कुनै पनि चिज लैजान पाउने सुविधा हुँदैन। स्वास्थ्यमा समस्या भएमा सरकारी अस्पतालमा भर्ना हुन पाइने र फोन चलाउनुपरेमा निश्चित समय सुविधा पाइन्छ। विभाग स्रोतका अनुसार लामिछानेको हकमा पनि यीबाहेकका सुविधा नदिइने बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै