ट्रेन्डिङ

विद्युतिय धरापमा सप्तरीमा एक दम्पतीको मृत्यु, दुई जना प्रहरीको नियन्त्रणमा

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५, पिप्रापूर्वमा धानबाली जोगाउन थापिएको विद्युतिय धरापमा परि एक दम्पतीको ज्यान गएको छ।

शनिबार राति करिब ८ बजे खेतमा काम सकेर घर फर्कने क्रममा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएका हुन् ।

नजिकै रहेको प्रहरी चौकी धरमपुरका अनुसार उनीहरू आफ्नै खेतबाट घर फर्कँदै गर्दा छिमेकी महेन्द्र सरदारले धानबालीमा हात्ती, अर्ना, बँदेललगायतका जंगली जनावर प्रवेश रोक्नका लागि बिछ्याएको जिआइ तारमा करेन्ट सटेको अवस्थामा परेका थिए।

कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै भएकाले सो क्षेत्र वन्यजनावरको मुख्य प्रवेश मार्ग मानिन्छ। धानबाली जोगाउन किसानहरूले यस्तो खालको विद्युतिय धराप थाप्ने गरेको भए पनि यसले मानिसको ज्यान जाने जोखिम बढाएको स्थानीयहरूले बताएका छन्।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको हो। प्रहरीले मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको जनाएको छ।

एकै परिवारका दुई सदस्यको निधनसँगै गाउँ शोकमा डुबेको छ। स्थानीयले अनियन्त्रित रूपमा विद्युत तार तानेर धराप थाप्ने प्रथा रोक्न प्रशासनले कठोर कदम चाल्नुपर्ने माग गरेका छन्।

खेतमा विद्युतिय धराप जडान गर्ने जग्गाधनी स्थानीय महेन्द्र भनिने बहिदार सरदार र सोही ठाउ बस्ने दुर्गानन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेख बहादुर बिष्टले बताए । उनका अनुसार खेतबारीमा विद्युतिय धराप राख्नु गैरकानुनी कार्य हो र यसले बारम्बार ज्यान जाने घटनालाई निम्त्याइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै