वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट नख्खु कारागारमा स्थानान्तरण गरिएको छ।
आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपाल आयल निगमको गोप्य बाटो हुँदै सिधै नख्खु कारागार लगिएको हो। प्रशासनले लामिछानेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न यो तरिका अपनाएको हो।
उनको स्वागतका लागि विमानस्थलमा भेला भएका पार्टीका कार्यकर्ता र समर्थकहरूलाई छक्याएर उनलाई बाहिर निकालिएको थियो। नख्खु कारागारबाहिर पनि ठूलो संख्यामा समर्थकहरू उनको समर्थनमा नाराबाजी गरिरहेका थिए। भ्यानबाटै रविले हात हल्लाएर समर्थकहरूलाई अभिवादन गरेका थिए।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए। अदालतले जेठ १६ गते उनको निवेदनलाई अनुमति दिएको थियो, जसअनुसार आज उनलाई नख्खु कारागारमा सारिएको हो।