काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक कलह थप गहिरिएको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गर्दै संसद् सचिवालयलाई जानकारी गराएपछि यो विवाद सतहमा आएको हो।
अध्यक्ष श्रेष्ठले चौधरीमाथि पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लगाएकी छन्। उनले चौधरीले महासचिव पदको दुरुपयोग गरी पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेकी थिइन्।
पहिलो स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि दोस्रो पटक स्पष्टीकरण माग्दा पनि चौधरीले जवाफ नदिएको भन्दै श्रेष्ठले उनीमाथि कारबाही गरेको पत्रमा उल्लेख गरेकी छन्।
अध्यक्षले संसदीय दलको नेता जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले यस्तो गैरजिम्मेवार व्यवहार देखाएको भन्दै आपत्ति जनाएकी छन्। यस घटनाले पार्टीभित्रको शक्ति संघर्ष र आन्तरिक असन्तुष्टिलाई प्रस्ट पारेको छ ।
