ट्रेन्डिङ

जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

जनकपुरधाम । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

साउन २७ गते जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल बार एसोसिएसनका केही अधिवक्ताहरूको समूहले पत्रकारमाथि आक्रमण गरेको भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरिएको हो।

महासंघका अध्यक्ष श्याम बन्जारा र धनुषा शाखाका अध्यक्ष पुरन साहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आक्रमणको घटनाले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमाथि गम्भीर प्रहार भएको उल्लेख छ।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले श्रीराम गुठीको स्वामित्वमा रहेको चार कठ्ठा जग्गा २० वर्षका लागि लिजमा लिएको थियो। महासंघको भवन निर्माणका लागि लिइएको उक्त जग्गामा तारबार लगाउने कार्य भइरहेका बेला अधिवक्ताहरूको समूहले त्यो जग्गामा पार्किङ गर्ने उद्देश्यले कब्जा गर्न खोज्दै हुलदंगा गर्दै पत्रकारमाथि आक्रमण गरेको महासंघको भनाइ छ।

आक्रमणमा महासंघका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिलकुमार निराला र बिनिता यादव घाइते भएका छन्। घाइतेमध्ये सञ्चारकर्मी दिवाकर रायको अवस्था गम्भीर रहेको र महासचिव शैलेन्द्र महतोको खुट्टा दुई ठाउँमा भाँचिएको ज्ञापनपत्रमा उल्लेख छ। यसबाहेक, पत्रकार महिलामाथि अभद्र व्यवहार र आपत्तिजनक शब्द प्रयोग गरिएको पनि जनाइएको छ।

घटनापछि महासंघले तत्काल स्थानीय प्रशासन र प्रहरी कार्यालयमा लिखित उजुरी दिए पनि अहिलेसम्म कुनै पनि दोषी पक्राउ नपरेको भन्दै ज्ञापनपत्रमा प्रहरीको भूमिकामाथि प्रश्न उठाइएको छ। घटनाको अनुसन्धानमा उदासीनता देखिएको भन्दै महासंघले यसले कानूनी शासनको गरिमामाथि गम्भीर प्रश्न उठाएको बताएको छ।

महासंघले ज्ञापनपत्रमार्फत घटनामा संलग्न सबै व्यक्तिलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिनपछि कडा कारबाही गर्न र प्रेस स्वतन्त्रताको रक्षाका लागि सरकारले प्रभावकारी कदम चाल्न माग गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै