ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका तय, एससीओ सम्मेलनमा सहभागी हुने

वीरगन्ज। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी भदौ १४ गते चीन प्रस्थान गरी भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । यो सम्मेलन भदौ १५ (अगस्ट ३१) देखि सुरु हुँदैछ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार यो भेट भदौ १८ मा हुनेछ।

यसैगरी, सोही सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली र मोदीबीच साइडलाइन भेटवार्ता हुने सम्भावना छ, यद्यपि यसको कार्यतालिका अझै तय भइसकेको छैन।

सम्मेलनमा सहभागी हुने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले भदौ १८ (सेप्टेम्बर ३) मा दिवा भोजको पनि आयोजना गर्ने बताइएको छ।

प्रधानमन्त्री ओलीको यो कार्यकालमा यो दोस्रो चीन भ्रमण हो । यसअघि उनले २०८१ मङ्सिरमा चीन भ्रमण गरेका थिए । यसबीचमा उनले अमेरिका, थाइल्याण्ड र हालै साउन २३ गते तुर्कमेनिस्तानको भ्रमण गरिसकेका छन्। उनी तुर्कमेनिस्तान भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन गएका थिए।

प्रधानमन्त्री ओली चीनबाट फर्किएपछि भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । यस भ्रमणको तयारीका लागि भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री भदौ १ गते नेपाल आउने बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै