ट्रेन्डिङ

साइबर ठगीको नयाँ तरिका : ‘Nepse AI’ एपबाट बैंक खाता खाली, सचेत रहन प्रहरीको आग्रह

वीरगन्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामाजिक सञ्जालमा ‘Nepse AI’ नामक एपबाट ठगी भइरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

एप डाउनलोड गर्न लगाएर खाताबाट लाखौँ रुपैयाँ चोरी गर्ने र डिजिटल प्रमाणहरू मेटाउने घटनाहरू बढेको भन्दै प्रहरीले प्रेस विज्ञप्ति जारी गरेको हो।

कसरी हुन्छ ठगी ? 

प्रहरीका अनुसार, सामाजिक सञ्जालहरू (फेसबुक, इन्स्टाग्राम, टिकटक आदि) मा ‘Nepse AI’ ले सेयर बजारको विश्लेषण गरी धेरै नाफा कमाउन सहयोग गर्ने भ्रामक विज्ञापनहरू देखाइन्छ। जब कोही व्यक्तिले त्यसको प्रलोभनमा परेर एप डाउनलोड गर्छन्, एप इन्स्टल हुनेबित्तिकै ह्याकरहरूले रिमोट सेसन खोलेर पीडितको मोबाइलमा नियन्त्रण जमाउँछन्।

सीआईबीले दिएको जानकारीअनुसार, एकजना ‘जोन डोइ’ (सांकेतिक नाम) ले यस्तै विज्ञापनबाट एप डाउनलोड गर्दा उनको मोबाइल स्क्रिन केही समय ब्ल्यांक भएको थियो। त्यसपछि उनको विभिन्न बैंक खातामा रहेको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र मोबाइलमा रहेका सबै डाटा तथा एप्ससमेत मेटाइएको भन्दै उजुरी परेको छ। प्रहरीले यस्ता प्रकृतिका धेरै उजुरीहरू आइरहेको बताएको छ।

प्रहरीले यस्ता ठगीबाट बच्नका लागि केही उपायहरू पनि सुझाएको छ :

Two-factor authentication प्रयोग गर्ने (सम्भव भएसम्म एसएमएस कोड प्रयोग गर्ने)।

पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्ने।

‘Nepse AI’ जस्ता विज्ञापन लिङ्कबाट आएका अपरिचित एपहरू कहिल्यै इन्स्टल नगर्ने।

‘AnyDesk’ वा ‘TeamViewer’ जस्ता रिमोट पहुँच दिने एपहरूको प्रयोग गर्दा सावधानी अपनाउने र अपरिचित व्यक्तिलाई पहुँच नदिने।

एपहरू डाउनलोड गर्दा आधिकारिक स्रोत (जस्तै : Google Play Store, IOS App Store) बाट मात्र गर्ने।

प्रहरीले यदि यस्ता घटना घटेको जानकारी पाउनसाथ सम्बन्धित बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा खबर गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै