वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा उपचारको क्रममा एक कैदीको मृत्यु भएपछि उत्पन्न तनाव मत्थर पार्न मृतकका आफन्त र स्थानीय प्रशासनबीच अहिले वार्ता भइरहेको छ।
अस्पतालको गेटमा प्रदर्शनकारीहरूले नाराबाजी र विरोध जारी राखेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
मृतक राहुल साह तुरहाका परिवारजनले अस्पताल र कारागार प्रशासनको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्। उनीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग राखेका छन्। यसै मागलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीहरूले मृतकका परिवारसँग वार्ता गरिरहेका छन्।
वार्तामा मुख्यतः घटनाको छानबिन प्रक्रिया, दोषीमाथि कारबाहीको सुनिश्चितता र परिवारलाई राहतको विषयमा छलफल भइरहेको बताइएको छ ।
हत्याको अभियोगमा कैद सजाय भोगिरहेका राहुल साह तुराहाको आज बिहान कारागारमा व्यायाम गर्दा स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। तर, अस्पतालले थप उपचारका लागि बाहिर लैजान सिफारिस गर्दा पनि कारागार प्रशासनले अनुमति नदिएको भन्दै परिवारले विरोध जनाएका छन्।
परिवारको प्रदर्शन र आरोपपछि अस्पताल परिसरमा तनाव बढेको छ । अहिले वार्ताले स्थितिलाई केही हदसम्म शान्त पार्ने प्रयास भइरहेको छ। घटनापछि नारायणी अस्पताल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।