वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल प्रशासनको लापरबाहीको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन्।
हत्याको अभियोगमा वीरगन्ज कारागारमा रहेका वीरगन्ज-२५, खलवाटोला श्रीसियाका राहुल साह तुरहाको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो।

परिवारका अनुसार, आज बिहान कारागारमा जिम गर्ने क्रममा राहुलको शरीरको नसामा समस्या आएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। अस्पतालका चिकित्सकले नसा सम्बन्धी विशेषज्ञ उपचार यहाँ सम्भव नभएको भन्दै बाहिरको अस्पतालमा लैजान सल्लाह दिएका थिए।
तर, कारागार प्रशासनले सुरक्षा र कानुनी प्रक्रियाका कारण कैदीलाई बाहिरको निजी अस्पतालमा लैजान नमिल्ने भन्दै उनलाई नारायणी अस्पतालमै राखेको थियो। त्यसै क्रममा आज बिहान करिब १० बजे उनको मृत्यु भएको परिवारका सदस्यहरूले बताएका छन्।

मृतकका आफन्तहरूले अस्पतालको लापरबाही र सही समयमा उचित उपचार नपाएकै कारण राहुलको ज्यान गएको आरोप लगाएका छन्। यसैको विरोधमा उनीहरूले नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै नाराबाजी पनि गरिरहेका छन्।