ट्रेन्डिङ

कैलाली कारागार घटनाः राष्ट्रिय मुक्ति पार्टीले गृहमन्त्रीको राजीनामा माग्यो

फाइल तस्बिर

वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टीले कैलाली कारागारभित्र कैदीबन्दीका दुई समूहबीच भएको हिंसात्मक झडपमा सरकारको चरम लापरबाही रहेको आरोप लगाएको छ।

झडपमा एक जनाको मृत्यु र ४८ जना घाइते भएपछि पार्टीले विज्ञप्ति जारी गर्दै गृह प्रशासनमाथि गम्भीर प्रश्न उठाएको हो।

पार्टीका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘कारागार प्रशासनको गम्भीर सुरक्षा लापरवाही र राज्यको उदासीनताले एउटा जीवन समयअगावै समाप्त भयो।’ उनले राज्यको सुरक्षा नियन्त्रणभित्र यसरी मृत्यु हुनु सामान्य घटना नभएको र यो गृह प्रशासनको चरम लापरबाहीको परिणाम भएको बताएका छन्। पार्टीले घटनालाई ‘अचानक भएको झडप’ भनी लुकाउने प्रयासको पनि निन्दा गरेको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, कारागारभित्रको सुरक्षा अभाव र तनावबारे ५९० भन्दा बढी कैदीबन्दीको हस्ताक्षरसहित राज्यलाई अग्रिम जानकारी गराइएको थियो, तर कुनै पनि आवश्यक कदम चालिएको थिएन। पार्टीले यसको सम्पूर्ण जिम्मेवारी गृह प्रशासनले लिनुपर्ने माग गरेको छ।

यस घटनाको छानबिनका लागि राष्ट्रिय मुक्ति पार्टीले ६ बुँदे माग पनि अघि सारेको छ। जसमा दोषीलाई कारबाही, घाइतेहरूको उपचार, कारागार सुधार र मृतक भरत चौधरीका परिवारलाई उचित राहतको माग गरिएको छ। साथै, सुरक्षा संयन्त्र पूर्ण रूपले असफल भएको भन्दै गृह प्रशासनको प्रमुखको हैसियतले गृहमन्त्रीको राजीनामा समेत माग गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै