वीरगन्ज । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष पदको शपथ लिएका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई शपथ ग्रहण गराए। पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ज्ञवालीसँगै प्रतिष्ठानका उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहालले पनि शपथ लिएका छन्।
शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष ज्ञवालीले प्रतिष्ठानले मदन भण्डारी र जीवराज आश्रितको विचार र योगदानलाई समाजमा स्थापित गर्न ३१ वर्षदेखि काम गर्दै आएको बताए। उनले अब प्रतिष्ठानले चार वटा मुख्य काममा ध्यान केन्द्रित गर्ने जानकारी दिए।
ज्ञवालीका अनुसार, प्रतिष्ठानले एमालेको केन्द्रीय स्कुल विभागसँगको सहकार्यमा वैचारिक कामलाई अगाडि बढाउनेछ। यसका लागि प्रतिष्ठानको एउटा भवनलाई ‘जबज स्कुल’ (जनताको बहुदलीय जनवाद स्कुल) चलाउने गरी पुनर्निर्माण गरिएको छ। ‘विधान महाधिवेशनलगत्तै हामी नियमित रूपमा स्कुल सञ्चालन गर्नेछौँ,’ उनले भने। यसबाट पार्टीलाई वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी र नेता कार्यकर्ता तयार पार्न मद्दत पुग्ने ज्ञवालीको विश्वास छ।
शपथपछि बसेको बैठकले प्रतिष्ठानलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गर्ने पनि उनले बताए।