ट्रेन्डिङ

सिरहा र धनुषा जोड्ने कमला नदीको पुलः १४ वर्षदेखि अलपत्र, स्थानीयलाई सास्ती

जनकपुरधाम । सिरहा र धनुषा जिल्लालाई जोड्ने गरी कमला नदीमा बन्न लागेको पुल १४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

२०६८ सालमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको यो पुल अधुरै रहँदा स्थानीय बासिन्दाले हरेक वर्ष वर्षायाममा ठूलो सास्ती भोग्नुपरेको छ। पुल नबन्दा स्थानीयहरूले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

यसै वर्ष साउनको तेस्रो हप्तामा आएको बाढीले अस्थायी बाँसको पुल बगाएपछि आवतजावत ठप्प भएको थियो। हाल काठको संरचना बनाएर पुनः आवतजावत सुरु गरिए पनि जोखिम कायमै छ। सिरहा–६ का स्थानीय प्रवीण यादवले भने, ‘पुल नबन्दा हामी वर्षौंदेखि दुःख भोग्दै आएका छौँ। अहिले बनाइएको काठको पुल एकदमै जोखिमपूर्ण छ। मोटरसाइकलसहित यात्रा गर्दा झनै डर लाग्छ तर हामीसँग अरू विकल्प छैन।’

उनले यात्राका क्रममा शुल्कमा समेत मनपरी भएको बताए। ‘पहिले ठेक्का सम्झौताअनुसार २० रुपैयाँ शुल्क लिइन्थ्यो, अहिले त्यो हटाइएको भनिए पनि ५० रुपैयाँसम्म तिर्नुपरेको छ,’ उनले भने। ‘एकातिर जोखिमपूर्ण यात्रा, अर्कातिर अनियमित शुल्क, जनतामाथि दोहोरो भार परेको छ।’

सुरुमा पप्पु–लुम्बिनी जेभीलाई पुल निर्माणको जिम्मा दिइएको थियो। तर पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको थियो। हालै बाढीका कारण पुलका दुईवटा पाया भासिएपछि मर्मतका लागि ८ करोड रुपैयाँको बिमा रकम नपाएको भन्दै कम्पनीले एक महिनादेखि काम रोकेको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायका अनुसार, निर्माण कम्पनीले काम रोकेपछि ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको छ।

पुल नहुँदा बाढीको समयमा पैदल यात्रुले बाँसको भऱ्याङ चढेर वा डुङ्गा प्रयोग गरेर नदी पार गर्नुपर्ने अवस्था रहेको सिरहा–६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिए। कमला नदीको यो पुल अधुरो रहँदा हरेक वर्षायाममा यहाँका स्थानीय बासिन्दाका लागि ठूलो चुनौती बनेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै