वीरगन्ज । वीरगन्ज हेल्थ केयर अस्पतालमा जटिल अवस्थामा रहेको गर्भको शिशु र आमाको सफल प्रसूति गराएका स्वास्थ्यकर्मीलाई अभिभावकले सम्मान गरेका छन्।
वीरगन्ज महानगरपालिका–६ निवासी राकेश मिश्राले आफ्नी श्रीमती अन्नु मिश्रा र शिशुको ज्यान बचाएकोमा अस्पतालकी प्रशासन प्रमुख भूमिका अधिकारीलाई सम्मान गरेका हुन्। राकेश मिश्राले आफ्नी पत्नी अन्नुको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था निकै जटिल बनिसकेको बताएका थिए। यस्तो अवस्थामा पनि अस्पतालका स्वास्थ्यकर्मीहरूको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर आमा र शिशु दुवैलाई बचाएको हो।
भूमिका अधिकारीका अनुसार, प्रसूतिको निर्धारित मितिभन्दा १० दिनअघि नै अन्नुलाई अस्पताल ल्याइएको थियो। जाँच गर्दा शिशुको चाल कम भएको पाइएपछि तत्काल भर्ना गरी सोही रात आपत्कालीन शल्यक्रियाको निर्णय गरिएको थियो। डा. साह र अधिकारीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीको अथक प्रयास र कुशलताले शल्यक्रिया सफल भएको उनले बताइन्।
शल्यक्रियापछि आमा र शिशुलाई तीन दिनसम्म गहन निगरानीमा राखिएको थियो। उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य भएपछि बिहीबार घर पठाइएको छ। अभिभावक राकेश मिश्राले अस्पताल र स्वास्थ्यकर्मीको भूमिकालाई अविस्मरणीय भन्दै आफू र आफ्नो परिवारप्रति गरेको सहयोगका लागि आभार व्यक्त गरे। उनले यस्तो कठिन परिस्थितिमा जीवन रक्षा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको प्रशंसा गरे।