वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले जिल्ला कारागार भैरहवा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।
पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठकमा सहभागी हुन जाने क्रममा भट्टराईले आज बिहान लामिछानेसँग भेटघाट गरेका हुन्। भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले लामिछानेलाई थुनाबाट बाहिर राखेर मुद्दा लड्न दिनुपर्ने बताए। निर्वाचित सांसद भएकाले उनी भाग्ने वा थप अपराध गर्ने सम्भावना नरहेको भन्दै उनले थुनामा राखिरहनु आवश्यक नभएको तर्क गरे। ‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो,’ उनले भने।
यस विषयमा आफूले सभामुखलाई समेत ध्यानाकर्षण गराएको भट्टराईले बताए। उनले रवि लामिछानेलाई कि त जमानतमा रिहा गरी जनताको सेवा गर्न दिनुपर्ने वा उनको सांसद पद खारेज गरेर नयाँ निर्वाचन गराउनुपर्ने विकल्प सुझाए।
भट्टराईले कारागारमा लामिछानेलाई पत्रपत्रिका उपलब्ध नगराइएको र एक्लै साँघुरो कोठामा राखिएकोमा असन्तुष्टि व्यक्त गरे। यसले उनलाई सूचनाको अधिकारबाट वञ्चित गरेको र मानवीय व्यवहारमा कमी देखिएको उनको भनाइ छ।
‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ। हामी त पञ्चायतकालमा, पढ्ने गर्थ्यौं,’ भट्टराईले भने, ‘कमसेकम सूचनाबाट वञ्चित गर्न चाहिँ हुँदैनथ्यो।’ उनले यसबारे सम्बन्धित निकायमा कुरा गर्ने पनि बताए।
भट्टराईले लामिछानेलाई जनताको प्रतिनिधि र राजनीतिक बन्दीको रूपमा सद्भाव देखाउन भेट्न आएको बताए। उनले यसअघि पनि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दाबी गर्दै उनको न्यायका लागि हस्ताक्षर अभियानमा समेत समर्थन जनाएका थिए।