ट्रेन्डिङ

पानीको निकास नहुँदा रौतहटमा ४० बिघा धानबाली नष्ट

रौतहट । लामो खडेरीपछि परेको पानीले रौतहटको फतुवा विजयपुर नगरपालिका–५ का किसानहरूमा खुसीको सञ्चार ल्याएको थियो, तर त्यो खुसी क्षणिक मात्रै रह्यो।

भारी वर्षाका कारण करिब ४० बिघा धानबाली डुबानमा परेपछि किसानहरू चिन्तित बनेका छन्। लामो समयको खडेरीले धान रोप्न नपाएका किसानहरूले बल्लतल्ल रोपेको धान डुबेको हो। सन्तपुर दोस्तीया क्षेत्रका किसानहरू अमिर खान, नथुनी तलेवर, सेराज अन्सारी, नुराईन अन्सारी, आबिद अन्सारी र ताहिर लगायतका खेतमा पानी भरिएको छ।

पीडित किसान अमिर खानका अनुसार, पहिले बाटोमा राखिएको ह्युम पाइपले पानीको निकास दिने गरेको थियो, तर अहिले त्यो बन्द भएपछि डुबानको समस्या आएको हो। कटहरिया–सन्तपुर–कलैया सडक खण्डको सन्तपुर चोकदेखि करिब २५० मिटर पश्चिमतर्फका खेतहरूमा पानी जमेको छ। निकास नहुँदा पानी बस्तीतर्फ पनि पस्न थालेको स्थानीयले बताएका छन्।

‘रातभर पानीको डरले न निद्रा लाग्यो, न त बिहान धान जोगाउने उपाय सोच्न सकियो,’ एक स्थानीयले आफ्नो पीडा पोखे। यदि फेरि भारी वर्षा भयो भने घरभित्रै पानी पसेर खाद्यान्न जोगाउन मुस्किल हुने उनीहरूको चिन्ता छ।
यसैबीच, वडाध्यक्ष एजाज अहमदले समस्या समाधानका लागि तत्काल पहल गर्ने बताएका छन्। विभिन्न राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीवीहरूसँग छलफल गरी आज सर्वदलीय बैठक बसेर ठोस समाधान खोज्ने निर्णय भएको उनले जानकारी दिए।

रौतहटमा देखिएको मौसमी असन्तुलनले कृषि प्रणालीमाथि गम्भीर असर पारेको छ। खडेरीले गर्दा धान रोप्न ढिला भएकोमा अब डुबानले बाली नै नष्ट हुने जोखिम बढेको छ। यसले किसानहरूलाई थप मारमा पारेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै