वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाले किसानहरूलाई लक्षित गर्दै अनुदानमा रासायनिक मल वितरण गर्ने भएको छ।
नगर कार्यपालिकाको कार्यालय, बहुअरी पिडारीले हालै एक सूचना जारी गर्दै १३ वटा विभिन्न कृषि सहकारी संस्थामार्फत मल वितरण गरिने जानकारी दिएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रादेशिक कार्यालय वीरगन्जबाट प्राप्त पत्र र ‘अनुदानमा मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ बमोजिम नगरपालिकामा गठित स्थानीय समितिको मंगलरबारको निर्णय अनुसार यो वितरण प्रक्रिया अघि बढाइएको नगरपालिका प्रमुख सिंहासन साह तेलीले बताए ।
नगरपालिकाद्वारा जारी सूचनामा, तपसिलमा उल्लेख गरिएका सहकारी संस्थाहरूलाई ७ दिनभित्र नगरपालिकाको कृषि शाखामा सम्पर्क गरी मल प्राप्त गर्न अनुरोध गरिएको छ।
यस पहलले यस क्षेत्रका किसानहरूलाई कृषि उत्पादन बढाउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। नगरपालिकाकी नगर उपप्रमुख सुष्मा कुमारी कुशवाहाको निर्देशनमा यो प्रक्रिया अघि बढेको हो। समयमै मल प्राप्त गर्नका लागि सम्बन्धित सहकारी संस्थाका पदाधिकारीहरूलाई कृषि शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
