ट्रेन्डिङ

बारामा चुनावअघि शिलान्यास भएको पुल तीन वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित

वीरगन्ज । निर्वाचनमा भोट आकर्षित गर्न हतार–हतारमा शिलान्यास गरिएको बाराको पसाहा खोलामाथिको पुल तीन वर्षदेखि अलपत्र पर्दा स्थानीयवासी निराश र आक्रोशित बनेका छन्।

२०७९ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअघि जसपा नेपालका नेताहरू रामसहाय प्रसाद यादव र रामबाबु प्रसाद यादवले निकै तामझामका साथ शिलान्यास गरेको यो पुलको निर्माण कार्य अहिलेसम्म सुरु हुन सकेको छैन।

पसाहा खोलामा पुल नहुँदा सिमरा, कोल्हवी, करैयामाई लगायतका क्षेत्रका हजारौं सर्वसाधारणले वर्षौंदेखि सास्ती भोगिरहेका छन्। बर्खाको समयमा खोलामा बाढी आउँदा बाटो अवरुद्ध हुन्छ र ३० किलोमिटर घुमेर कलैया हुँदै सिमरा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। यसले यातायात मात्रै होइन, दैनिक कामकाज, स्वास्थ्य सेवा र सरकारी कार्यालयसम्मको पहुँचमा समेत गम्भीर समस्या सिर्जना गरेको छ।

जीतपुर सिमरा–१७ का वडाध्यक्ष भीम लामाका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४३ करोडको ठेक्कासम्बन्धी सूचना निकाले पनि बजेट सुनिश्चित नभएकाले निर्माण अगाडि बढ्न सकेन। उनले चुनावको बेला राजनीतिक दबाबमा ठेक्का निकालिए पनि पछि बजेट विनियोजन नहुँदा काम रोकिएको बताए। लामाले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटेर ध्यानाकर्षण गराए पनि यस वर्षको बजेटमा समेत यो पुलको योजना समावेश नभएको गुनासो गरे ।

यो पुल निर्माण भएमा सिमरा–कोल्हवी सडकखण्ड हुँदै रौतहटको गौरसम्म जाने यात्रुहरूका लागि ६० किलोमिटरसम्मको दूरी कम हुनेछ, जसले गर्दा समय र इन्धन दुवैको बचत हुनेछ। यति महत्त्वपूर्ण परियोजना बजेट अभावको बहानामा तीन वर्षदेखि अलपत्र पर्नुले सरकार र जनप्रतिनिधिको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै