वीरगन्ज । वीरगन्ज महानगरपालिका–१६ स्थित सनलाईट कलेजमा आज ‘मानव बेचबिखन तथा लागुऔषध ओसार–प्रसार’ सम्बन्धी एक महत्त्वपूर्ण सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा भएको यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरिएको थियो। यसले युवा पुस्तालाई यी गम्भीर सामाजिक अपराधहरूबाट जोगिन र समाजलाई सुरक्षित राख्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले मानव बेचबिखनका प्रकार, यसका कानुनी प्रावधान र कसरी जोगिने भन्ने विषयमा विस्तृत जानकारी द्एि । उनले लागुऔषधको दुर्व्यसन र यसको ओसारपसारका जोखिमहरूबारे पनि विद्यार्थीहरूलाई सजग गराए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन भएको यस कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो। उनीहरूले विभिन्न प्रश्नहरू सोध्दै आफ्नो उत्सुकता र चेतना स्तर बढाएको देखिन्थ्यो। यस कार्यक्रमले विद्यार्थीहरूको ज्ञान अभिवृद्धि गर्नुका साथै उनीहरूमा सार्वजनिक रूपमा आफ्नो विचार राख्ने आत्मविश्वास पनि जगाएको आयोजक पक्षले जनाएको छ।
कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्रका वरिष्ठ सल्लाहकार श्याम केसीको अध्यक्षतामा भएको कार्यक्रममा सनलाईट कलेजका प्रिन्सिपल आलोक चौरसिया, समाजसेवी मार्टिन मोक्तान, प्रहरी हवल्दार कुमार विक लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।