ट्रेन्डिङ

काठमाडौं नेशनल मेडिकल पुनः सञ्चालनमा, निःशुल्क ओपिडी सेवा

वीरगन्ज । लामो समयदेखि बन्द रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल गत शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक समारोहबीच अस्पतालको उद्घाटन गरेका छन्। अस्पताल सञ्चालनमा आएको अवसरमा सर्वसाधारणलाई लक्षित गरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि निःशुल्क ओपिडी सेवा उपलब्ध गराउने घोषणा गरिएको छ। साथै, अन्य सेवाहरूमा पनि विशेष छुटको व्यवस्था गरिएको छ।

जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक(कान(घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवाहरू निःशुल्क उपलब्ध हुनेछन्। त्यसैगरी आपतकालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहनेछ।

त्यसैगरी एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स–रे र फिजियोथेरापी सेवामा विशेष छुटको व्यवस्था गरिएको छ। बिरामीहरूको सुविधाका लागि अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध छ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री थापा मगरले अस्पतालको पुनः सञ्चालनलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक कदमको रूपमा लिएको बताए। उनले बागमती स्वास्थ्य मन्त्रालयको तर्फबाट गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

अस्पतालका अध्यक्ष बसरुद्दिन अन्सारीले यो दिनलाई ऐतिहासिक र हर्षको दिन भन्दै अस्पताल पुनः सञ्चालनको मूल उद्देश्य मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई सशक्त बनाउनु रहेको बताए। उनले विगतमा नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभवलाई आधार मान्दै यस अस्पताललाई अझ प्रभावकारी र समाजोपयोगी बनाउने प्रतिबद्धता व्यक्त गरे।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहाँगिर अन्सारीले काठमाडौंको केन्द्रमा रहेको यस अस्पतालमार्फत नागरिकलाई गुणस्तरीय, सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए। उनले यो निःशुल्क सेवाको निर्णय समुदायप्रति आफ्नो उत्तरदायित्व र प्रतिबद्धता प्रस्तुत गर्ने अवसर भएको उल्लेख गरे।

व्यवस्थापक दिलीप साहले अस्पताललाई नागरिकको विश्वास जित्ने, गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य शिक्षा क्षेत्रमा आफ्नो उत्तरदायित्व पूरा गर्ने अवसरको रूपमा लिएको बताए।

यो अस्पतालको सञ्चालनमा नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल व्यवस्थापन टिम नै संलग्न रहेको बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै