वीरगन्ज । नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्साले आफ्नो २० औं स्थापना दिवस भव्यताका साथ मनाएको छ। यस अवसरमा लेखापरीक्षकहरूले वीरगन्जको मुख्य बजार क्षेत्रमा र्याली निकालेका थिए।
अडान दिवसको ब्यानर बोकेर घण्टाघरबाट सुरु भएको र्यालीले आदर्शनगर, घडिअर्वा र माईस्थानको परिक्रमा गरेको थियो। र्यालीमा अडान पर्साका सदस्यहरूका साथै अन्य लेखापरीक्षक र लेखा सहयोगीहरूको पनि उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा अडानका केन्द्रीय सदस्यहरू दिनानाथ रौनियार र डा. सन्तोष कुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो। उनीहरूले अडान दिवसको महत्त्वबारे प्रकाश पारेका थिए। कार्यक्रमको अध्यक्षता अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहले गरेका थिए।
यसअघि, अडान दिवसकै अवसरमा साउन ९ गते ५१ जना विद्यार्थीलाई शैक्षिक सामग्रीहरू पनि वितरण गरिएको थियो। अडान पर्साका सचिव कुलोत्तम पोखरेलले सम्पूर्ण कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रममा मधेश प्रदेश अडानका उपाध्यक्ष हृदय मोहनलाल दास, अडान पर्साका पूर्व अध्यक्ष प्रदुम्न प्रसाद सेढाई लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति थियो।