वीरगन्ज । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने सहमति गरेको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूलाई यसबारे जानकारी गराएका हुन्। उनका अनुसार, दुवै पक्षबीच एकताको छलफल अघि बढाउनका लागि वार्ता टोली गठन गरिनेछ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन्। उनले पार्टीभित्रको सबै खाले गुटबन्दी र समूहबद्धता अन्त्य गर्ने संकल्प लिइएको दाबी गरे।
प्रचण्डले भने, ‘पार्टी एकताबद्ध भएको छ, हामीले सामूहिक प्रतिबद्धता गरेका छौँ।’ उनले यो एकताले देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
स्थायी कमिटी बैठकले दशैंपछि र तिहारअघि केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ। यसका साथै, मध्यपहाडी लोकमार्गको अभियानलाई पनि निरन्तरता दिने निर्णय भएको छ। यसअघि पोखरासम्म पुगेर रोकिएको यो अभियान भदौ १५ गतेदेखि ताप्लेजुङसम्म पुग्ने गरी पुनः सुरु गरिनेछ।