ट्रेन्डिङ

बैंकिङ कसुरमा माओवादी नेता शिवकुमार साह तेली पक्राउ

वीरगन्ज । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्।

पर्साको सखुवा प्रसौनी–६, लखनपुर घर भएका तेलीलाई वीरगन्जको श्रीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, तेलीविरुद्ध क्रान्ति गुप्तासहित दुई जनाले जाहेरी दिएका थिए। आफ्नो बैंक खातामा पर्याप्त रकम नभए पनि तेलीले झुक्याएर १० लाख र ६ लाख रुपैयाँका दुईवटा चेक दिएको र ती दुवै बाउन्स भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

पक्राउ परेका तेलीलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि बैंकिङ कसुरको थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।

तेलीको विगत पनि विवादरहित छैन। २०७९ को निर्वाचनमा नेपाल सुशासन पार्टीबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएर हारेपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए। त्यसअघि उनी जनता समाजवादी पार्टीमा थिए। तेलीमाथि यसअघि पनि मधेश प्रदेश सरकारबाट प्राप्त करोडौँ मूल्यका कृषि उपकरण खरिदमा अनियमितता गरेको आरोप लागेको थियो।

उनी अध्यक्ष रहेको जय महावीर कृषि सहकारी संस्था लिमिटेडले कागजी प्रक्रियामै योजना सम्पन्न गरेर बजेट हिनामिना गरेको आरोप पनि उनीमाथि छ। साथै, आफ्नो उच्च राजनीतिक पहुँचको दाबी गर्दै प्रदेश र संघबाट योजना ल्याइदिने भन्दै कमिसन असुल्ने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै