लहान । सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीमा आएको बाढीले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीमा कटान तीव्र बनाएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
नदीले कटान गर्दै बस्तीको नजिकै आइपुगेकाले करिब ७५ परिवार बाढीको जोखिममा छन्। वर्षाका कारण बलान नदीको बहाव बढेसँगै नदीले तीव्र रूपमा कटान गर्न थालेको छ। स्थानीयका अनुसार, अब नदीको किनारा र बस्तीबीचको दूरी पाँच मिटर मात्रै बाँकी छ। सुन्दरपुरका ४५ र इस्लामपुरका ३० परिवार बाढीको चपेटामा परेका छन्।
स्थानीय मेहम्मद हुसेन अन्सारीले बाढीको त्रासले रातभर सुत्न नसकेको बताए। ‘कतिबेला बाढी बस्तीमा पस्छ भन्ने चिन्ताले निदाउन दिएन,’ उनले भने। अर्का स्थानीय मोहम्मद अफ्रोजले पनि बालबच्चालाई लिएर रातभर नजिकैको मदरसामा जाग्राम बस्नुपर्ने अवस्था आएको बताए।
यस समस्याको स्थायी समाधानका लागि नगरपालिकाले पहल गरे पनि बजेटको अभाव र ठेकेदारले काम बीचमै छाडेका कारण योजना पूरा हुन सकेको छैन। वडाध्यक्ष रामनाथ पण्डितले २५ लाख रुपैयाँको योजना भए पनि ठेकेदारले काम छोडेकाले १५ लाख रुपैयाँको मात्रै काम भएको जानकारी दिए।
नगरप्रमुख महेशप्रसाद चौधरीले बस्तीलाई सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन समाधानका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरिरहेको बताए। उनले बलान नदीले स्वरूप परिवर्तन गरेमा नजिकैको पूर्व–पश्चिम राजमार्गको पुल र खेतीयोग्य जमिन पनि जोखिममा पर्ने खतरा रहेको जनाए।