ट्रेन्डिङ

अन्तर्राष्ट्रिय फुटबलमा वीरगन्जका अरनीस गुप्ताको ऐतिहासिक सफलता, महानगरद्वारा सम्मान

वीरगन्ज । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै वीरगन्जका युवा खेलाडी अरनीस गुप्ताले ऐतिहासिक सफलता प्राप्त गरेका छन्। यस उत्कृष्ट उपलब्धिका लागि वीरगन्ज महानगरपालिकाले उनलाई सम्मान गरेको छ।

डेनमार्कको होरिङ स्टेडियममा जुलाई २० देखि २७ तारिखसम्म सम्पन्न भएको विश्वस्तरीय प्रतियोगितामा अरनीसले AG10 Academy (Goals Academy) बाट अन्डर–१४ समूहमा खेल्दै आफ्नो टिमलाई समूह विजेता बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यस सफलताको कदर गर्दै वीरगन्ज महानगरपालिकाले युवा खेलाडी अरनीसलाई विशेष सम्मान गरेको हो। नगरप्रमुख राजेशमान सिंहले उनलाई प्रशंसा पत्र प्रदान गर्दै उनको मेहनत र लगनको प्रशंसा गरे। सम्मान कार्यक्रममा नेपाल इनोभेट सोसाइटी वीरगन्ज अध्यक्ष कमल चौगाई, सत्यराज घिमिरे लगायत खेलप्रेमीहरूको उपस्थिति थियो।

उक्त प्रतियोगितामा ब्राजिल, मेक्सिको, डेनमार्क, स्पेन, नर्वे, युएई, क्यानडा, अमेरिका लगायत विश्वका ५० भन्दा बढी देशका २५०० एकेडेमीहरू सहभागी थिए। प्रतिस्पर्धात्मक फाइनल खेलमा अरनीसको टिमले केन्याको LEIT Soccer Academy लाई ३–१ गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको हो।

अरनीस गुप्ताले राइट फरवार्ड खेलाडीको रूपमा उत्कृष्ट प्रदर्शन गर्दै एक निर्णायक गोलको योगदान दिएर नेपालको झण्डा अन्तर्राष्ट्रिय मैदानमा उच्च बनाएका छन्। नगरप्रमुख सिंहले उनको यो उपलब्धिले वीरगन्ज मात्र नभई समग्र देशको गौरव बढाएको बताए।

वीरगन्ज महानगरपालिकाले भविष्यमा यस्ता युवा प्रतिभाहरूको प्रोत्साहन र सम्मानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै