वीरगन्ज । थारु आयोगकी सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्यकक्षभित्रै थुनेकी छन्। यो घटनापछि आयोगमा तनावको अवस्था सिर्जना भएको छ।
एक महिनासम्मको हाजिरी एकै दिन गर्न खोज्दा कार्यवाहक अध्यक्ष थारुले रोकेपछि विवाद भएको बताइएको छ। सोही विवादका कारण मोदीले आक्रोशित हुँदै अध्यक्षलाई उनको कार्यकक्षभित्र थुनेर ढोकामा बाहिरबाट ताला लगाएकी हुन्। उनले ताला लगाएको फोटो आफ्नै फेसबुकमा समेत अपलोड गरेकी थिइन्।
घटनाको जानकारी पाएपछि तत्कालै प्रहरी घटनास्थलमा पुगेर कार्यालयको ताला खोलेको थियो। यसरी कार्यवाहक अध्यक्ष सुबोधसिंह थारु करिब एक घण्टासम्म कार्यकक्षमा थुनिएका थिए।