ट्रेन्डिङ

झलनाथ खनालको असन्तुष्टि : एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न सकेन

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

उनले नेकपा एमालेबाट विद्रोह गरेको चार वर्ष बितिसक्दा पनि पार्टीले आफ्नो विद्रोहको औचित्य पुष्टि गर्ने गरी काम गर्न नसकेको बताएका छन्।

पार्टी अध्यक्ष माधव नेपालले आफूलाई ‘पार्टी छाडेर जान’ भनेको भन्दै खनालले पत्रकार सम्मेलनमा भने, ‘विद्रोहको औचित्य पुष्टि गर्ने कार्यदिशा नै अघि बढाउन सकिएन।’ उनले पार्टी नेतृत्व दक्षिणपन्थी अवसरवादको आलोचना गर्नमा असफल भएको पनि आरोप लगाए।

‘यो कुरा मैले मात्रै भनेको होइन, आम नेता–कार्यकर्ताको गुनासो हो। मैले त केवल नेतृत्वलाई खबरदारी मात्रै गरेको हुँ,’ खनालले भने। उनले आफूले वैज्ञानिक समाजवादको कुरा उठाउँदा अध्यक्ष नेपालले जनताको बहुदलीय जनवाद (जबज) छाड्न नसकिने अडान राख्ने गरेको उदाहरण दिए।

खनालले पार्टीभित्रै वैचारिक र सैद्धान्तिक बहस गरेर सही बाटो खोज्नुपर्नेमा जोड दिए। उनले विद्रोह आफैँमा गलत नभएको तर यदि यसको औचित्य पुष्टि गर्न नसकिएमा यो स्वतः गलत ठहरिने बताए। उनले आफू पार्टीको हितमा काम गर्न चाहने र वैचारिक समाधानका लागि प्रयास गरिरहने स्पष्ट पारे।

 

 

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै