सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–६, खुटाउन गाउँ र कविलासी नगरपालिका–८, अगरवा सशस्त्र प्रहरी क्याम्पमा शुद्ध पिउने पानीका लागि बायोसेन्ड फिल्टर प्रणाली हस्तान्तरण गरिएको छ।
हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालको आर्थिक सहयोग र स्थानीय समाज विकास केन्द्रको सहजीकरणमा यो कार्यक्रम सम्पन्न भएको हो। विशेषगरी मधेश प्रदेशमा लामो समयदेखिको खडेरी र सुख्खाका कारण खानेपानीको समस्या बढेपछि पूर्वगृहमन्त्री तथा मधेश प्रदेश सभा सदस्य बिमला अन्सारीको पहलमा यो फिल्टर वितरण गरिएको हो।
अगरवा क्याम्पमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य अन्सारीका साथै हेल्पिङ ह्यान्ड नेपालका को–अर्डिनेटर जीव पोखरेल, कोषाध्यक्ष रेबिका न्यौपाने, सल्लाहकार अर्जुन थापा, फिल्ड अफिसर वसिम अन्सारी, सशस्त्र प्रहरी बलका एसपी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।
त्यसैगरी, खुटाउनको एक विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमका वक्ताहरूले यस सहयोगले जनस्वास्थ्यमा सुधार ल्याउनुका साथै खानेपानीको अभाव झेलिरहेका समुदायलाई ठूलो राहत मिलेको बताएका छन्।