वीरगन्ज। वीरगन्ज कपडा बैंकले शुक्रबार घण्टाघरमा आयोजना गरेको एक कार्यक्रममा गरिब तथा असहायहरूलाई करिब ६०० थान नयाँ र पुराना कपडाहरू निःशुल्क वितरण गरेको छ।
संस्थाका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका वरिष्ठ समाजसेवी एवं अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले कपडा बैंकको नारालाई दोहोर्याउँदै भने, ‘जोसँग धेरै कपडा छ, हामीलाई दिएर जानुहोस्, जसलाई आवश्यक छ, हामीसँग लिएर जानुहोस्।’ उनले विपद् र संकटको समयमा पनि बैंकले पीडितहरूलाई सहयोग गर्दै आएको बताए।
कार्यक्रममा सहभागी सल्लाहकार अधिवक्ता प्रकाश उपाध्यायले ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने भावना अनुरूप चाडपर्वमा नयाँजस्तो देखिने कपडा उपलब्ध गराउन सबै सहयोगीहरूलाई आह्वान गरे।
कपडा बैंकका सचिव कन्हैया पटेलका अनुसार, बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट पनि नियमित रूपमा निःशुल्क कपडा वितरण गर्दै आएको छ। अध्यक्ष सिंहले सबैको साझा प्रयासबाट मात्रै यो सेवा सम्भव भएको भन्दै सबैलाई सहयोगको लागि धन्यवाद दिए।