ट्रेन्डिङ

नेशनल मेडिकल कलेज र हुलासबीच स्वास्थ्य सेवा सम्झौता

वीरगन्ज। वीरगन्जको नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीज–हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा उनीहरूका आश्रितहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार, हुलासका सञ्चालक समिति सदस्यहरू, कर्मचारीहरू र उनीहरूका प्रत्यक्ष आश्रितहरू (बाबु, आमा, श्रीमान्÷श्रीमती र दुई सन्तान) ले नेशनल मेडिकल कलेजबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। सामाजिक सुरक्षा कोष अन्तर्गत रहेका कर्मचारीहरूलाई कोषको समन्वयमा सेवा उपलब्ध गराइनेछ। कोषमा आबद्ध नभएका कर्मचारीहरूका लागि विभिन्न छुटको व्यवस्था गरिएको छ।

आपतकालीन अवस्थामा ‘Guarantee of Payment (GOP)’ प्राप्त भएपछि तत्काल सेवा प्रदान गरिनेछ।
यो सम्झौतामा औद्योगिक दुर्घटनाको उपचार, पूर्व–रोजगार चेकअप, वार्षिक स्वास्थ्य परीक्षण तथा त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने विषय पनि समावेश छ।

नेशनल मेडिकल कलेजको कार्यालयमा सम्पन्न भएको सम्झौता कार्यक्रममा अस्पतालको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास लगायतका पदाधिकारीहरूको उपस्थिति थियो। त्यसैगरी, हुलासको तर्फबाट वरिष्ठ मानव संसाधन प्रबन्धक गोकुल पौडेल र लेखा विभागका प्रतिनिधि मनोज पारिख सहभागी थिए।

एक वर्षको अवधिका लागि गरिएको यो सम्झौता दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ। दुवै संस्थाले सेवा प्रवाहमा पारदर्शिता र गोपनीयताको सिद्धान्तलाई कायम राख्ने प्रतिबद्धता जनाएका छन्। नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले यो सहकार्यले उद्योग र स्वास्थ्य क्षेत्रबीचको सम्बन्धलाई थप बलियो बनाउने बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै