वीरगन्ज । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा रहेका विवरणहरू (नाम, थर, उमेर) एक पटकका लागि सच्याउन पाइने व्यवस्था गरेको छ।
‘केही नेपाल ऐन संशोधन’ मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा संशोधन गरेर यो व्यवस्था ल्याइएको हो।
यसअघि, यो सुविधा ऐन लागू भएपछि जन्मिएका बालबालिकाहरूको हकमा मात्र उपलब्ध थियो र विवरण दर्ता भएको एक वर्षभित्र मात्र सच्याउन पाइन्थ्यो। अब भने जो कोहीले पनि एक पटकका लागि सम्बन्धित वडा कार्यालयमा रहेको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिएर आफ्नो विवरण सच्याउन सक्नेछन्।
ऐनको दफा २५ मा गरिएको संशोधनअनुसार, विवरण सच्याइएको जानकारी स्थानीय पञ्जिकाधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई दिनुपर्नेछ। विभागले उक्त जानकारीको आधारमा सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्र नम्बरमा समेत विवरण अद्यावधिक गर्नेछ।
