वीरगन्ज । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३, झौवाका किसानहरूलाई लक्षित गरी मधेश प्रदेश सरकारको सहयोगमा सिँचाइ बोरिङ जडान गरिएको छ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले एक कार्यक्रमबीच उक्त ‘पावरड्रिल बोरिङ’ को उद्घाटन गरेका छन्।
यो बोरिङबाट करिब २०० बिघा जग्गामा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ, जसले खडेरीको समयमा किसानहरूलाई ठूलो राहत दिने विश्वास गरिएको छ। अध्यक्ष सरार्फले यो बोरिङ यहाँका किसानका लागि ‘सञ्जीवनी’ बनेको बताएका छन्। उनले जनमत पार्टी किसान आन्दोलनको जगमा स्थापित भएकोले सधैँ किसानको हितमा काम गरिरहेको दाबी गरे।
उद्घाटन कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरू अनिता रौनियार, सन्तोष साह, प्रदेश सदस्य राजनारायण मिश्र, बिन्दवासिनी पालिका कमिटीका अध्यक्ष विनोद (ललन) चौरसिया लगायतका नेता तथा स्थानीय किसानहरूको उपस्थिति रहेको थियो।