ट्रेन्डिङ

माधव नेपालको झलनाथ खनाललाई जवाफ : ‘पार्टी छोडेर जानुहोस्’, एकीकरणको हल्ला निराधार

वीरगन्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई राजीनामा दिएर जान सुझाव दिएका छन्।

एक अन्तर्वार्तामा खनालले एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले कडा प्रतिक्रिया दिँदै यस्तो भनेका हुन्। नेपालले खनाललाई पार्टीको निर्णय उल्लङ्घन गर्ने नेताहरूको सूचीमा ‘नम्बर वान’ रहेको भन्दै उनीसँग पार्टीमा बस्ने अधिकारसमेत नरहेको दाबी गरेका छन्। ‘उहाँले त्यसो भन्नुभएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन,’ नेपालले भने, ‘अचेल त एआईको जमाना छ। नबोलेको कुरा पनि बोलेको जस्तो बनाइन्छ। उहाँले पार्टीबाट बिदा लिनुपर्छ।’

माओवादी केन्द्रसँगको सम्बन्धबारे बोल्दै नेपालले दुई पार्टीबीच समाजवादी मोर्चालाई निरन्तरता दिने र सहकार्यलाई बलियो बनाउने गरी छलफल भइरहेको बताए। ‘यो हाम्रो पार्टीको संस्थागत निर्णय हो। यसमा कसैले विरोध गर्नुको अर्थ छैन,’ उनले भने। उनले माओवादीसँगको एकीकरणको हल्ला निराधार भएको भन्दै अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको स्पष्ट पारे।

आफूमाथि लागेको भ्रष्टाचारको मुद्दालाई राजनीतिक प्रतिशोध भन्दै नेपालले आफू निर्दोष रहेको दाबी गरे। ‘मलाई लागेको केस भ्रष्टाचारको केस नै होइन,’ उनले भने, ‘यो राजनीतिक प्रतिशोध हो।’ उनले आफूले एक पैसा पनि तलमाथि नगरेको र सबै निर्णयहरू मन्त्रालय, सचिव, मन्त्री हुँदै मन्त्रिपरिषद्बाट सर्वसम्मत रूपमा भएको बताए। उनले पतञ्जलीलाई सार्वजनिक जग्गाको एक टुक्रा पनि नदिएको र हदबन्दीभन्दा बढी जग्गा किन्न कानुनले नै छुट दिएको दाबी गरे।

सरकार सबै हिसाबले असफल भएको टिप्पणी गर्दै नेपालले केपी ओलीको दम्भ र अहंकारका कारण देशले दुःख पाइरहेको आरोप लगाए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै