वीरगन्ज । पर्सा जिल्लामा नेपाली नागरिकताको दुरुपयोग गरी करोडौंको अवैध सम्पत्ति आर्जन गरेको एक गम्भीर घटना सार्वजनिक भएको छ।
भारतको राजस्थान घर भई वीरगन्ज महानगरपालिका–१०, लाठगल्लीमा बसोबास गर्दै आएका निरन्जन कुमार अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी बिहीबार जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको हो।
यो प्रकरणले नेपाली नागरिकताको दुरुपयोग र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर प्रकृतिका अपराधहरू कसरी भइरहेका छन् भन्ने उजागर गरेको छ ।
विभागका अनुसार, अग्रवालले झुठा विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेका थिए। यति मात्र नभई, उनले आफ्नी श्रीमती रितुदेवी अग्रवाललाई समेत वैवाहिक अंगीकृत नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको छ। नागरिकता प्राप्त गरेपछि उनीहरूले विभिन्न व्यक्तिको नाममा व्यापक मात्रामा सम्पत्ति आर्जन गरेको भेटिएको छ।
अग्रवालले आफ्नो नाममा मात्र नभई, श्रीमती र अन्य विभिन्न व्यक्तिको नाममा समेत जग्गा, बैंक खाता, सेयर लगायतका सम्पत्ति खरिद गरी राखेको अनुसन्धानका क्रममा खुलेको छ । यी सबै सम्पत्तिहरू अवैध रूपमा आर्जन गरिएको आयबाट खरिद गरिएको विभागले ठहर गरेको छ। यसरी अवैध तरिकाले आर्जन गरिएको सम्पत्तिको बिगो कुल ५१ करोड ११ लाख ९५ हजार ७० रुपैयाँ ८ पैसा पुगेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निरन्जन कुमार अग्रवाललाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण ऐन, २०६४ अनुसार अधिकतम सजाय हुन माग गरेको छ। साथै, उनले अवैध रूपमा आर्जन गरेका सम्पूर्ण सम्पत्ति जफत गर्न पनि विभागले अदालतसमक्ष माग गरेको छ। यसका अतिरिक्त, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न पनि विभागले माग गरेको छ।