वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा नर्सहरूका लागि निर्माण गरिएको आवासीय भवनमा डेढ दशकदेखि गैर–नर्स र गैर–चिकित्सक कर्मचारीहरूको ‘कब्जा’ कायमै रहेको पाइएको छ।
अस्पतालको महेन्द्र आरोग्य भवनपछाडि पश्चिमतर्फ रहेको ३२ कोठे क्वार्टरमध्ये झन्डै ४० प्रतिशत कोठामा अस्पतालका अन्य कर्मचारीहरू अनाधिकृत रूपमा बसोबास गरिरहेको अस्पताल प्रशासनले नै पुष्टि गरेको छ।
यो समस्याले विशेषगरी बाहिरबाट आउने नर्सहरूलाई प्रत्यक्ष असर पारेको छ। उनीहरू अस्पतालको आवास सुविधा पाउन नसकेर महँगो डेरामा बस्न बाध्य छन्। यसको पछिल्लो उदाहरणका रूपमा हालै अस्पतालमा बहालमा आएका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास स्वयंले पनि क्वार्टर नपाएर एक महिनासम्म होटलमा बस्नुपरेको थियो। त्यस्तै, अस्पतालको ११औं तहकी मेट्रोनसमेत अहिले क्वार्टर नपाएर डेरामै बसिरहेको बुझिएको छ।
अस्पताल प्रशासनले विगतमा पनि यी अनाधिकृत कब्जा हटाउने प्रयास गरे पनि राजनीतिक दबाबका कारण अभियान प्रभावकारी हुन सकेको छैन। कतिपय कर्मचारीहरू सरुवा भएर गइसकेपछि पनि क्वार्टर खाली नगरी ताला लगाएर राख्ने वा आफन्तलाई जिम्मा दिएर जाने प्रवृत्तिले समस्या झन् गहिरिएको अस्पताल प्रशासन बताउँछ।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार पटक–पटक खाली गराउन पत्राचार गर्दा पनि कुनै परिणाम आएको छैन। ‘राजनीतिक पहुँच भएका कर्मचारीहरूले क्वार्टर ओगटिराखेका छन्। खाली गराउन खोज्दा राजनीतिक दबाब आउँछ,’ उनले गुनासो पोखे। स्रोतका अनुसार क्वार्टर खाली गराउने क्रममा पदसमेत गुम्ने डरले अस्पताल प्रशासन कडा निर्णय लिन सकिरहेको छैन।
यही समस्या प्रसूति गृहको पूर्वतर्फ रहेको २४ कोठे चिकित्सक तथा नर्स आवास भवनमा पनि दोहोरिएको छ। त्यहाँ पनि महानगरमा घर भएका, सेवानिवृत्त भइसकेका वा अन्यत्र कार्यरत कर्मचारीहरूले वर्षौंदेखि डेरा जमाएर बसेका छन्।
यद्यपि, अस्पताल प्रशासनले यस समस्या समाधानका लागि नयाँ रणनीति ल्याएको बताएको छ। अस्पताल प्रमुख ह्दयेश गिरीले अब क्वार्टर छोड्ने कर्मचारीले कोठाको साँचो बुझाएपछि मात्र रवानापत्र दिने नीति लागू गरिएको जानकारी दिए। यस नीतिका कारण हालसम्म एक जना कर्मचारीलाई स्थानान्तरण गरिएको उनले बताए।
तर, विगतदेखि बसेका र पहिले नै सेवानिवृत्त भइसकेका कर्मचारीको हकमा भने प्रशासन अझै मौन देखिन्छ। प्रहरी प्रशासनले सहयोग गर्ने आश्वासन दिँदा पनि अस्पताल प्रशासनले हालसम्म कुनै ठोस पहल गरेको छैन, जसका कारण नर्सहरूको आवास समस्या ज्यूँका त्यूँ छ।