ट्रेन्डिङ

पर्सामा लागुऔषध र अवान्छित गतिविधिमा संलग्न १६ जना युवा पक्राउ

वीरगन्ज । पर्सा जिल्लाका मुख्य सीमा नाकाहरूमा सुरक्षा चेकजाँचमा कडाइ गरिएसँगै भित्री सीमा नाकाहरूमा अवैध गतिविधि बढेको गुनासो बढेपछि प्रहरीले विशेष अभियान सुरु गरेको छ।

यसै क्रममा जगरनाथपुर गाउँपालिकाको जानकीटोल चोकबाट लागुऔषध सेवन गरी होहल्ला र आपराधिक क्रियाकलापमा संलग्न १६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय जानकीटोलको संयुक्त टोलीले मंगलबार बिहान ११ बजेको समयमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, पक्राउ परेका युवाहरू लागुऔषधजन्य प्रतिबन्धित ट्याब्लेट, इन्जेक्सन, कोरेक्स लगायतका पदार्थ सेवन गरी नेपाल प्रवेश गर्ने गरेका थिए र चेकजाँचका क्रममा प्रहरी कर्मचारीसँग अभद्र व्यवहारसमेत गरेका थिए।

पक्राउ परेका १६ जना युवाहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा पर्सा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

पर्साका मुख्य सीमा नाकाहरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले चेकजाँचमा कडाई गरेसँगै लागु औषध सेवनकर्ताहरु भित्री नाकाहरुलाई प्रयोग गरिरहेका थिए । ग्रामिण क्षेत्रमा झैझगडा, चोरी, सवारी दुर्घटना जस्ता घट्ना बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाएको प्रवक्ता लम्सालले बताए ।

पक्राउ पर्नेहरूमा पर्सा, सिराहा, धनुषा र बारा जिल्लाका विभिन्न स्थानका छन्, जसमा वीरगन्ज महानगरपालिकाका सुजित पटेल, राहुल यादव, श्यामसुन्दर यादव, ए.जे. दास, फिरोज अन्सारी, देवनारायण राम, सुमित कुशवाहा, दिनानाथ पटेल र दिपेन्द्र पासवान लगायत छन्।

यस्तै, सिराहाको धनगढीमाई नगरपालिका निवासी दिनेश कुमार श्रेष्ठ, धनुषाको छिरेश्वर नगरपालिका निवासी जितेन्द्र कुमार यादव, पर्साको विन्दवासिनी गाउँपालिका निवासी नितेश मुखिया, बाराको जितपुर सिमरा उपमहानगरका मनुप अछामी र टलक बहादुर के.सी, पर्साको ठोरी गाउँपालिका निवासी रोहन बुढाथोकी र पर्साकै धोबिनी गाउँपालिका निवासी रिजवान हवारी पक्राउ परेका छन्।

प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै