ट्रेन्डिङ

ट्रेड युनियन आन्दोलन राजनीतिबाट अलग हुन सक्दैन : एमाले महासचिव पोखरेल

वीरगन्ज । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नसकिने बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को १२औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित राजनीतिक परिसंवाद कार्यक्रममा बोल्दै उनले श्रमजीवी वर्गको राजनीतिक पहुँच स्थापित गर्न ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नमिल्ने स्पष्ट पारे । ‘ट्रेड युनियन आन्दोलन राजनीतिक प्रश्नबाट अलग भयो भने श्रमजीवीको अधिकार स्थापित गर्न गाह्रो पर्दछ भन्ने बुझ्नु पर्दछ,’ उनले भने ।

महासचिव पोखरेलले नेपालमा पर्याप्त रोजगारीका अवसर हुँदाहुँदै पनि धेरै युवाहरू विदेशिएकोमा चिन्ता व्यक्त गरे। विगतको ‘लाहुरे संस्कृति’को निरन्तरतास्वरुप आजका युवाको पनि विदेशप्रतिको आकर्षण रहेको उनले स्पष्ट पारे । नेपालको कृषि क्षेत्र व्यावसायिक नहुँदा पनि विदेश पलायन बढेको उनको भनाइ थियो। ‘पढेलेखेको युवा पुस्ता कृषि कर्मबाट अलग भयो, यसले पढेलेखेका युवामा रोजगारीको समस्या देखा पर्‍यो, यो समस्याले गर्दा विदेश जाने प्रवृत्ति बढेको छ,’ उनले उल्लेख गरे ।

नेपालको श्रम क्षेत्रलाई कृषि कर्मसँग जोड्नु ट्रेड युनियनको मुद्दा बन्नुपर्नेमा उनले जोड दिए । कृषि क्षेत्रमा श्रमशक्तिलाई जोड्न नसक्ने हो भने नेपालको ट्रेड युनियन आन्दोलनको आधार पनि कमजोर हुने पोखरेलको धारणा छ।

नेपालको राजनीतिमा नेकपा एमाले अब्बल पार्टी भएको र जनताको सबैभन्दा रोजाइको पार्टी भएको उनले दाबी गरे । एमाले जब सबै खालका प्रहार तोडेर अघि बढ्छ, तब पार्टीभित्रै अनेक खालका समस्याहरू आउने गरेको अनुभव उनले सुनाए । एमाले बलियो हुँदै गएपछि त्यसलाई कमजोर पार्न पार्टीबाहिर र भित्रका शक्तिहरू लाग्ने पोखरेलको धारणा छ।

उनले नेपालको राजनीति अब ध्रुवीकरणको दिशामा जानुपर्नेमा जोड दिए । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल बलियो बन्नुपर्ने र त्यसको लागि सही विचार र दृष्टिकोण आवश्यक रहेको पोखरेलले बताए ।
‘नीतिका आधारमा राजनीतिको ध्रुवीकरण बन्नुपर्दछ,’ उनले भने ।

नेकपा एमालेको मुख्य लक्ष्य वैज्ञानिक समाजवाद भएको र त्यो नेपाली विशेषताको समाजवाद भएको पोखरेलले धारणा राखे ।

पार्टीको मुख्य नेतृत्वलाई कमजोर बनाउन २ कार्यकाल र ७० वर्षको उमेर हदको चर्चा गरिएको भन्दै उनले आपत्ति जनाए । एमालेका नेताहरू कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको उनले बताए । ७० वर्षको उमेर हद हटाउन जबज (जनताको बहुदलीय जनवाद) को मूल मर्ममा कहाँनेर असर पर्‍यो भन्दै उनले प्रश्न गरे । पार्टीको ११औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबै नेताहरूलाई खुल्ला रहेको पनि उनले जानकारी दिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा पठाउनुअघि पार्टीभित्र पर्याप्त छलफल र बहस भएको उनले बताए । कम उमेरको मान्छेलाई राष्ट्रपति बनाउनु हुँदैन कि भन्ने कुरा उठाउने मान्छे आफैँ भएको पोखरेलले सुनाए । ‘मैले विद्यादेवी भण्डारीको निवासमा गएर पनि तपाईं नजानु बेस हुन्छ भनेर भनेको थिएँ, तर पार्टीले निर्णय गर्‍यो उहाँ हुनुभयो,’ पोखरेलले भने ।

दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने उनले बताए । माओवादीले उपराष्ट्रपति भएका नन्दबहादुर पुनलाई राजनीतिमा ल्याएको बताउँदै उनले माओवादी यो व्यवस्थाप्रति विश्वास गर्ने पार्टी नै नभएको दाबी गरे । त्यसैले एमालेका नेताहरूलाई माओवादीको पछि नलाग्न आग्रह गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै