बारा । बारा प्रहरीले भारी परिमाणमा लागू औषधसहित एक जनालाइ पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाइ पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार राज्य थाना जितना ग्राम पन्चायत अगर्वा वडा नम्बर ६ कोडीगावा टोल बस्ने ५० वर्षका मन्जन साह भन्ने उपेन्द्र साह छन् ।
प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पावरहाउस चौक देखि पूर्वपट्टि ५०० मिटर बम नहरमा जाँच गरेको थियो । सोही क्रममा सिम्रौनगढ साइडबाट बीआर ०५ बिके ७०३५ नम्बरको भारतीय नम्बर प्लेटको होन्डा कम्पनीको एसपी साइन मोटरसाइकलमा सवार उनको साथबाट लागू औषध बरामद भएको प्रहरी बताँउछ ।
मोटरसाईकलको लेगार्डमा बोरामा बाँधेर ल्याउदैँ गरेको अवस्थामा एक हजार ३८ पत्ता अर्थात् १० हजार ३८० पिस लागू औषध ‘ट्रामाडोल’ फेला पारेको प्रहरीले जनायो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ ।