वीरगन्ज । बलात्कारको गम्भीर आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो।
राजेश झालाई साउन ४ गते पक्राउ गरिएको थियो। बलात्कारको कसुरमा सामान्यतया २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने कानुनी प्रावधान भए पनि अहिराजको मुद्दामा भने प्रहरीले ९ दिनभित्रै अनुसन्धान सकेर मुद्दा अदालतमा पेस गरेको छ। यो द्रुत प्रक्रियाले धेरैको ध्यान तानेको छ, किनकि अन्य सामान्य अभद्र व्यवहारका कसुरमा समेत प्रहरीले लामो समय हिरासतमा राखेर अनुसन्धान गर्ने गरेको पाइन्छ।
पीडित युवतीको आरोपअनुसार, गत जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित उनको कोठामा राजेश अहिराजले बलात्कार गरेका हुन्। डेरा कोठामा एक्लै बसेका बेला पूर्वचिनजानका अहिराज आएर यस्तो जघन्य अपराध गरेको पीडितले बयान दिएकी छन्।
अहिराजविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेखित बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो। सरकारी वकिल कार्यालयले दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरेको छ। मुलुकी फौजदारी अपराध संहिताको खण्ड (ङ) अनुसार, १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।