ट्रेन्डिङ

जसपा नेपालले तोक्यो ‘मोर्चाको अभियान’मा सहभागि हुने नेता : वीरगन्जमा उपेन्द्र, जनकपुरमा राजकिशोर

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चाको देशव्यापी अभियानमा सहभागी हुने पार्टीका शीर्ष नेताहरूको टुङ्गो लगाएको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले मोर्चाको उद्देश्य, आवश्यकता र औचित्यबारे जनसमक्ष जानकारी गराउन विभिन्न आठ स्थानमा आयोजना हुने कार्यक्रमहरूका लागि नेताहरू तोकेको हो।

जसपाका प्रचार प्रमुख पूर्ण बस्नेतका अनुसार, आगामी साउन १८ गते काठमाडौंमा हुने कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव स्वयं सहभागी हुनेछन्। यस्तै, साउन २१ गते भैरहवाको कार्यक्रममा महासचिव रामकुमार शर्मा, साउन २३ गते नेपालगन्जमा महासचिव लालबाबु राउत र साउन २५ गते कैलालीमा उपाध्यक्ष विद्युत बज्राचार्य सहभागी हुनेछन्।

भदौ महिनामा पनि यो अभियान जारी रहनेछ। भदौ १६ गते विराटनगरको कार्यक्रममा सहअध्यक्ष रकम चेम्जोङ, भदौ १८ गते राजविराजमा उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, भदौ २० गते जनकपुरमा उपाध्यक्ष राजकिशोर यादव र भदौ २२ गते वीरगन्जमा पुनः अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम तय भएको छ।

बैठकले देशमा रहेका जातीय–राष्ट्रिय भाषिक, धार्मिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको अधिकार प्राप्तिका लागि ‘अल्पसङ्ख्यक अधिकार सङ्गठन’ गठन गर्ने महत्त्वपूर्ण निर्णयसमेत गरेको बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै