ट्रेन्डिङ

सुख्खाग्रस्त मधेशमा तत्काल बिजुली : प्राधिकरण प्रमुख शाक्यको १० दिने निर्देशन

जनकपुरधाम । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खाग्रस्त मधेश प्रदेशमा सिँचाइका लागि जडान हुने डिप बोरिङ स्थलहरूमा ५ देखि १० दिनभित्र विद्युत् पहुँच पुर्‍याउन मातहतका कार्यालयहरूलाई कडा निर्देशन दिएका छन्।

मधेश प्रदेशका किसानहरूले भोगिरहेको पानीको चरम अभावलाई मध्यनजर गर्दै शाक्यले यो द्रुत कदम चाल्न निर्देशन दिएका हुन्। मङ्गलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखहरूसँगको छलफलका क्रममा शाक्यले स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय गरी तार, पोल र मिटर जडानलगायतका सबै काम तोकिएको समयसीमाभित्रै सक्न निर्देशन दिए। उनले थ्रीफेज लाइन जडान गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रक्रियागत झन्झटमा नअल्झिन स्पष्ट पारे।

बैठकमा शाक्यले विद्युत् प्राधिकरणको बढ्दो घाटाप्रति पनि चिन्ता व्यक्त गरे। उनले भने, ‘यदि प्राधिकरणको घाटा बढ्दै गयो भने संस्था नोक्सानमा जान धेरै समय लाग्दैन। यसबारेमा सबैलाई बुझाउन जरुरी छ।’ शाक्यले ‘सेवा’ को नाममा निःशुल्क बिजुली वितरण गर्न नसकिने स्पष्ट पारे, तर सिँचाइ र खानेपानीका लागि सस्तोमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनको यो निर्देशनले मधेश प्रदेशका किसानहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै