काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक मोर्चाका कार्यक्रमहरूमा सहभागी हुने आफ्ना नेताहरूको टुङ्गो लगाएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय सचिवालयको बैठकले मोर्चाको उद्देश्य, औचित्य र महत्वबारे जनस्तरमा सशक्त सन्देश प्रवाह गर्न नेताहरूलाई विभिन्न कार्यक्रममा खटाउने निर्णय गरेको हो।
जसपाका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार साउन १८ गते काठमाडौँमा हुने कार्यक्रमका लागि अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन्।
त्यसपछि साउन २१ मा भैरहवामा महासचिव रामकुमार शर्मा, साउन २३ मा नेपालगञ्जमा महासचिव लालबाबु राउत र साउन २५ मा कैलालीमा उपाध्यक्ष विद्युत् बज्राचार्य सहभागी हुने तय भएको छ।
यस्तै, भदौ १६ मा विराटनगरमा हुने कार्यक्रममा सह–अध्यक्ष रकम चेम्जोङ, भदौ १८ मा राजविराजमा उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, भदौ २० मा जनकपुरमा उपाध्यक्ष राजकिशोर यादव र भदौ २२ गते वीरगन्जको कार्यक्रमका लागि पुनः अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन्।
बैठकले मुलुकभित्र रहेका जातीय, भाषिक, धार्मिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूको हक–अधिकार सुनिश्चित गर्न ‘अल्पसंख्यक अधिकार संगठन’ गठन गर्ने कार्य प्रारम्भ गर्ने निर्णयसमेत गरेको बस्नेतले बताए।
संघीयता, समावेशिता र पहिचानको राजनीतिमा सक्रिय रहेको जसपाले पछिल्ला दिनमा जनस्तरमा आफ्नो पकड पुनः मजबुत बनाउने रणनीति अनुसार मोर्चासँगको सहकार्यलाई सशक्त बनाउँदै लगेको देखिन्छ।