ट्रेन्डिङ

नागरिक एपमा जोडियो श्रम संसार

वीरगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्ना सबै सेवाहरूलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने गरी ‘श्रम संसार’ प्रणालीलाई ‘नागरिक एप’ मा जोडेर नयाँ रणनीतिक कार्ययोजना अघि सारेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठसँग संयुक्त रूपमा आज पत्रकार सम्मेलनमा यस साझेदारीको विधिवत उद्घाटन गर्दै यो जानकारी दिएका हुन्।

मन्त्री भण्डारीले मन्त्रालयले उपलब्ध गराउने सबै सेवाहरू नागरिकसम्म सहज पहुँच पुर्‍याउन र नागरिकमैत्री सुशासन अभिवृद्धि गर्न यो डिजिटल फ्रेमवर्कको विस्तार गरिएको बताए। उनको विश्वास छ कि नागरिक एपसँग जोडिएपछि अब बेरोजगार व्यक्तिहरूले श्रम तथा रोजगार सेवा प्राप्तिका लागि विभिन्न वेबसाइट चहार्नुपर्ने वा भनसुन गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।

‘श्रम संसार’मा कन्सुलर सेवा समेत विस्तार गरिएकोले विदेशमा रहेका नेपाली श्रमिकहरूलाई थप सुविधा पुग्ने मन्त्री भण्डारीले जानकारी दिए। मन्त्रालयले आन्तरिक रोजगार, वैदेशिक रोजगार, श्रम बजार व्यवस्थापन तथा रोजगारमूलक सेवाहरूको साझा र एकीकृत सूचना प्रणालीको रूपमा रणनीतिक डिजिटल प्रणालीको विकास गरिरहेको दाबी गरेको छ।

यसको पूर्ण कार्यान्वयनबाट सेवा प्रवाहमा देखिएको झन्झट, ढिलाइ र अस्पष्टता हट्ने मन्त्रालयको विश्वास छ। मन्त्री भण्डारीले श्रमिकलाई केन्द्रमा राखेर सेवा तथा प्रविधिको विस्तार गर्न लागेको र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए। उनले यस सूचना प्रणालीमा आवश्यक सुधारका लागि सञ्चार माध्यम तथा पत्रकारलाई सहयोग गर्न पनि अनुरोध गरे।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठले डिजिटल पद्धतिको विकास गर्दै जाँदा नागरिकले सेवा प्राप्त गर्दा डिजिटल ब्यारियर नबनोस् भन्ने कुरामा मन्त्रालय सजग बन्नुपर्ने धारणा व्यक्त गरे। उनले सोह्रौं योजनाको कार्यान्वयनका लागि सूचना प्रणालीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मन्त्रालयले प्रविधिको विकास र विस्तारमा ध्यान दिएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा मन्त्रालयको रणनीतिक डिजिटल रोडम्याप र कार्ययोजना प्रस्तुत गर्दै श्रम विज्ञ सल्लाहकार युबराज बस्नेतले सन् २०३० भित्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी सूचनाहरूलाई एकीकरण गर्दै नागरिकलाई सेवा प्रवाह गर्दा कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङ (एमएल) जस्ता उच्च प्रविधिको प्रयोगमा जोड दिइएको बताए।

आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले कार्यक्रमको अध्यक्षता गर्दै अबको श्रम तथा रोजगार सेवा प्रविधिमा आधारित हुने र यसका लागि नीतिगत तथा कानुनी सुधारको बाटो अगाडि बढाइसकिएको जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै